प्रहार समाचार । धादिङ, २१ भदौ २०८२ शनिवार । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित बादरेमोडमा शुक्रबार बिहान यात्रुबाहक बस र पेट्रोल बोकेको ट्याङ्कर आपसमा ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको यात्रुबाहक बस र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको पेट्रोल ट्याङ्कर ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा घाइते हुनेहरू सबै धादिङकै बेनिघाट रोराङ गाउँपालिका–२ का स्थायी बासिन्दा रहेका छन्। धादिङ यातायात समितिको ना ४ ख २८९४ नम्बरको बस र ना ४ ख ३१३३ नम्बरको ट्याङ्कर बीच भएको टक्करमा बसमा सवार ६० यात्रुमध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका यात्रुहरूमध्ये अधिकांश चेपाङ समुदायका छन्। घाइतेहरूमा २० वर्षीया सरिता चेपाङ, ४५ वर्षीया हरिबहादुर चेपाङ, ६० वर्षीय होमबहादुर चेपाङ, २० वर्षीया अप्सरा चेपाङ, १३ वर्षीया मनिषा परियार, १२ वर्षीय नवीन चेपाङ, १३ वर्षीय रञ्जित चेपाङ, ६८ वर्षीया फुलमाया चेपाङ, ४९ वर्षीय बिष्णु चेपाङ, २८ वर्षीया कल्पना चेपाङ, ४० वर्षीया तारा बानिया, ३६ वर्षीया संगिता चेपाङ र १० वर्षीय अजय चेपाङ रहेका छन्। तीमध्ये कतिपयलाई टाउको, हातखुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
घाइते सबैलाई तत्काल उद्धार गरी मलेखुस्थित राजमार्ग अस्पतालमा उपचारका लागि लगिएको छ। प्रारम्भिक विवरण अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ।
बस चालक जीवन राना, जो मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–२ का ३१ वर्षीय हुन्, र ट्याङ्कर चालक बुद्ध थोकर, धादिङको थाक्रे गाउँपालिका–५ का ३५ वर्षीय बासिन्दा, दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको प्रारम्भिक कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालले जानकारी दिएका छन्।
उनले भने, “ट्याङ्कर र बस दुवै नियन्त्रणमा लिइएको छ। घाइतेहरूको उपचार भैरहेको छ। दुर्घटना कसरी भयो भन्ने विस्तृत विवरण प्रहरी अनुसन्धानपछि मात्र खुल्नेछ।”
यस दुर्घटनाले विशेषगरी सामाजिक रूपमा पछाडि पारिएको चेपाङ समुदायमाथिको थप संवेदनशीलता देखाएको छ। राज्यका पहुँच र स्रोत–साधनबाट टाढा रहेका यस्ता समुदायका नागरिकहरू अझै पनि जोखिमपूर्ण यात्रामा निर्भर छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढिरहेको छ।
स्थानिय बासिन्दा तथा सामाजिक अभियन्ताहरूले ग्रामीण क्षेत्रमा सवारी सुरक्षाको अभाव, मोड र झ्यालाहरूको जोखिमपूर्ण अवस्थालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने माग गरेका छन्।


























