• चन्द्रावती कमली (नहर्की)/ प्रहार समाचार । तनहुँ, २१ भदौ २०८२ शनिवार । नेपालमै पहिलोपटक ‘आर्क डिजाइन’ मा निर्माण भइरहेको तनहुँको दमौलीस्थित मादी नदीमाथिको चार लेनको पुल आगामी आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न हुने भएको छ। पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन सो पुलको ७१ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीव्र गतिमा अगाडि बढिरहेको छ।

बढ्दो सवारी चापसँगै यातायात सहज बनाउने र क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भइरहेको उक्त पुल व्यास नगरपालिका–४ र ५ लाई जोड्नेछ। आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार करिब १ अर्ब २१ करोड लागतमा निर्माण भइरहेको ३१५ मिटर लामो पुलमा कुल ६ वटा स्पान रहनेछन्।

“नेपालमै पहिलोपटक अत्याधुनिक आर्क डिजाइनमा चार लेनको पुल बन्ने भएकाले यो प्रविधिक दृष्टिले मात्र होइन, कलात्मक हिसाबले पनि निकै महत्वपूर्ण छ,” पाण्डेले भने । भ
हाल मादी नदीमाथि दुई लेनको ३७० मिटर लामो पुल सञ्चालनमा रहेको छ भने सोही पुलको करिब ५० मिटर दक्षिणतर्फ नयाँ पुल निर्माण भइरहेको हो। पर्यटकीय दृष्टिले समेत आकर्षक हुने गरी डिजाइन गरिएको यो पुलले तनहुँको पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ।
दैनिक सय कामदार, तीव्र गतिमा निर्माण :
निर्माण कम्पनी जेड आइसष्ट–अन्नक जेभी का साइट इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले दैनिक एक सयभन्दा बढी कामदार परिचालन गरी निर्माणलाई तीव्रता दिइएको बताए । ज

पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) अन्तर्गत हालसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने करिब ८६ प्रतिशत भौतिक प्रगति हासिल भएको पाण्डेले बताए। त्यस्तै, ४१.४५ किलोमिटर सडकमा कालोपत्रे कार्य सम्पन्न भइसकेको छ।
छ अर्बको ठेक्का, म्याद थप :
पूर्वी खण्डको निर्माण कार्य चीनको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी ले लिएको हो। वि.सं. २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेबाट निर्माण सुरु गरिएको थियो। पूर्वी खण्डको कुल ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ रहेको छ भने पश्चिम खण्डको लागत ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ पुगेको छ।

सडकको प्रारम्भिक रेखांकन वि.सं. २०२६ सालमै गरिए पनि सवारी चाप बढ्दै गएपछि एसियाली विकास बैंकको ऋण सहयोगमा सडकलाई चार लेनमा विस्तार गरिएको हो। ठेक्का म्याद असार २९ गते सकिए पनि बाँकी काम पूरा गर्न असोज ३० गतेसम्मका लागि म्याद थपिएको आयोजनाले जनाएको छ।


























