प्रहार समाचार । तनहुँ, २१ भदौ २०८२ शनिवार । तनहुँको भानु नगरपालिकाको कार्यपालिका बैठक आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घावेंशीस्थित विकास समितिको सभाहलमा सम्पन्न भएको छ। आउँदो २०८२ असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शिरखकटेरी क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिक निर्माणको शिलान्यास गरिने भएको बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा चालु आर्थिक वर्ष २०८२/०८३ का योजनाहरूको कार्यान्वयन र विगतका कार्यक्रमहरूको समीक्षा गरिएको छ। विशेषतः नगर गौरवका योजनाहरूका सम्बन्धमा विस्तृत छलफल गर्दै, पूर्व स्वीकृत कार्ययोजनाअनुसार ती योजनालाई अघि बढाउने निर्णय गरिएको नगरपालिकाले जानकारी दिएको छ।
बैठकले राष्ट्रकै गौरवको परियोजनाका रूपमा रहेको “भानु साहित्य उद्यान” निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने निर्णय समेत गरेको छ। बहुवर्षीय योजनाका रूपमा अगाडि बढाइएको यो परियोजना भानु नगर मात्र नभई सम्पूर्ण देशका लागि महत्वपूर्ण हुने बताइएको छ ।
साथै असोज ६ गते नै र विहान भानु–१ स्थित ऐतिहासिक सतिघाटधाममा सरसफाइ कार्यक्रम पनि सञ्चालन गरिनेछ। नगरपालिकाले दुबै कार्यक्रममा भानु नगरवासी सबैलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।


























