प्रहार समाचार । तनहुँ, २१ भदौ २०८२ शनिवार । तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौर भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त समर्थन प्राप्त उम्मेदवार केशबहादुर सुनार विजयी भएका छन्। शुक्रबार राति सम्पन्न मतगणनामा उनले ३७३ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनले कांग्रेसकै अर्का उम्मेदवार कमलामोहन वाग्ले (२३३ मत) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुडामणि दाहाल (६० मत) लाई सहज अन्तरले पछि पारे।

निर्वाचनमा सुनार नेतृत्वको १२ सदस्यीय संयुक्त प्यानल प्रस्तुत गरिएको थियो, जसमा कांग्रेस, एमाले र माओवादीका उम्मेदवार समावेश थिए। मतदातालाई संयुक्त नामावलीसहितको चिट बाँडिएको थियो, जसले गठबन्धनको एकता झल्काउँथ्यो ।

यस जितमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको विशेष भूमिका रहेको बताइएको छ। कांग्रेसभित्रको मतभेद मिलाउन नसकेपछि उनले एमाले पार्टी कार्यालयमै पुगेर गठबन्धनका लागि सहमति जुटाएका थिए। प्रमुख न्यौपानेले कांग्रेस बैठकमा समेत सुनारलाई अध्यक्ष बनाउन राष्ट्रपतिको चासो रहेको उल्लेख गर्दै सबैको समर्थन मागेका थिए।
क्याम्पस समितिका अन्य पदमा पनि विविध प्रतिनिधित्वसहित चयन प्रक्रिया सम्पन्न भएको छ। महिला सदस्यतर्फ सिर्जना तिवारी, शोभा बडु अधिकारी र बिणा कैनी निर्विरोध निर्वाचित भएका छन्। तीन जना आवश्यक परेकोमा सोही संख्यामा उम्मेदवारी परेपछि उनीहरू स्वतः निर्वाचित भएका हुन्।
दलित सदस्यतर्फ अर्जुन सुनार चयन भएका छन् भने जग्गादाता तर्फ ठाकुर दरैको मात्र उम्मेदवारी परेको हुँदा उनी सर्वसम्मत चयन भएका हुन्। जनजाति सदस्यमा क्या. सोमबहादुर थापा र चिजबहादुर दरै विजयी भएका छन्। त्यस्तै, अभिभावक सदस्यतर्फ कृष्णबहादुर रुचाल र रामराज अधिकारी निर्वाचित भएका छन्।
पुस्तकालय समितिको संयोजकमा कुलबहादुर थापा चयन भएका छन्। उक्त समितिमा बुद्धिसागर साखी, महेन्द्र गिरी र अम्बिका अधिकारी सदस्यका रूपमा रहेका छन्। आन्तरिक लेखा परीक्षण समितिमा संयोजक ऋषिराम ढुंगाना रहेका छन् भने सदस्यहरूमा प्रेमबहादुर राउत र सरु कुमाल चयन भएका छन् ।
खुल्ला सदस्यतर्फ भने १२ जना उम्मेदवार विजयी भएका छन्। विजयी सदस्यहरूमा संगित घिमिरे, मोहन गिरी, रामकृष्ण विक, विवेक भट्टराई, सोमराज सिग्देल, डा. ईश्वरचन्द्र वाग्ले, भरतप्रसाद पन्थ, सुनिल मिश्र, श्रीराम कार्की, निर्मल पण्डित, ईश्वरबहादुर विष्ट र भाग्यशाली ढुंगाना छन्। यद्यपि निर्वाचन समितिबाट आधिकारिक घोषणा भने अझै हुन बाँकी छ।
यस निर्वाचनले भानुभक्त क्याम्पसमा राजनीतिक सहकार्यको अखडा बनेको दिश्लेषकदान बताउँछन्। । तिनै प्रमुख दलको सहकार्यबाट बनेको नेतृत्वले अब क्याम्पसको शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारमा कस्तो प्रभाव पार्छ भन्ने कुराले जनचासो खिचेको छ।


























