प्रहार समाचार । काठमाडौँ, २१ भदौ २०८२ शनिवार । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेको हुँदा देशभरको मौसममा प्रभाव देखिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको असरले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भएको जनाइएको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि पानी पर्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी प्रदेशसहित पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा पनि पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


























