प्रहार समाचार । तनहुँ, २० भदौ २०८२ शुक्रवार । तनहुँको म्याग्दे -४ थर्पु बजार स्थित राजमार्ग सडक खण्डमा लागूऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन्। प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा २५ केजी २९० ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

धादिङबाट पोखरातर्फ जाँदै गरेको बा ९२ प ५४२८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सोही मोटरसाइकलका चालक धादिङ गजुरी गाउँपालिका–१ का ३८ वर्षीय अक्कलबहादुर तामाङ र पछाडि सवार धादिङकै रोराङ गाउँपालिका–१ का ४५ वर्षीय दिलबहादुर तामाङ पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनाले झोलामा र मोटरसाइकलमा लुकाइछिपाई ल्याएको अवस्थामा ४ वटा प्याकेटमा राखिएको २५ किलो २ सय ९० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष बि. क.ले जानकारी दिए।
प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरिएको सो मोटरसाइकलसहित २ हजार ४ सय २५ रुपैयाँ नगद, बोन्टेल र आईटेल कम्पनीका दुई थान की-प्याड मोबाइल र एक थान भिभो टि वान फाइभ जि स्मार्टफोन समेत बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























