हेडलाईनसमाचारगण्डकीविजनेस

लमजुङमा दसैं कृषि र पशु हाटबजार सञ्चालन हुने

• बिजय अधिकारी (प्रहार संवाददाता) लमजुङ , २० भदौ २०८२ शुक्रवार । आउने दसैंलाई लक्क्षित गरेर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन उदेश्यले हाटबजार आयोजना हुने भएको छ।

“कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ” भन्ने मूल नाराका साथ असोज १० गतेदेखि १२ गतेसम्म मर्स्याङ्दी–३, खुदी बजारस्थित कृषि सेवा केन्द्रमा हाटबजार सञ्चालन गरिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए।

गाउँपालिकाभित्र उत्पादन भएका वस्तुहरूको बजारिकरण गर्दै उपभोक्तालाई ताजा र सस्तो सामग्री उपलब्ध गराउने उद्देश्यसहित हाटबजार आयोजना गर्न लागिएको हो। अध्यक्ष गुरुङका अनुसार यस कार्यक्रमले स्थानीय कृषकलाई प्रत्यक्ष बजारको पहुँच दिलाउने, उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने र स्थानीय उत्पादनमा आत्मनिर्भर बन्ने दिशातर्फ अग्रसर गराउनेछ।

हाटबजारमा ताजा तरकारी, फलफूल, मासुजन्य उत्पादनसँगै स्थानीय रैथाने बाली, हस्तकलाका सामग्री तथा फुड स्टलहरूको पनि आकर्षक प्रदर्शन गरिनेछ। यसले कृषिप्रति जनचासो बढाउने र स्थानीय संस्कृतिको जगेर्ना गर्दै कृषि पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

हाटबजारमा बिक्री हुने वस्तुहरूको न्यूनतम मूल्य निर्धारण गाउँपालिकाको ‘समर्थन मूल्य निर्धारण समिति’ले गर्नेछ। कृषकले आफ्ना उत्पादनबारे अग्रिम जानकारी दिन सक्नेछन् भने उपभोक्ताले चाहिएको वस्तु पूर्व बुकिङमार्फत खरिद गर्न सक्ने सुविधा समेत उपलब्ध गराइएको छ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयासस्वरूप आयोजना गरिएको यो हाटबजारले कृषकलाई थप उत्साह प्रदान गर्नुका साथै उपभोक्तालाई दसैंका लागि गुणस्तरीय सामान सुलभ मूल्यमा प्राप्त हुने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button