प्रहार समाचार । काठमाडौं, १८ भदौ २०८२ बुधवार । जापानी अतिक्रमणविरुद्धको युद्ध र दोस्रो विश्वयुद्धको फासिवाद विरोधी विजयको ८०औं वार्षिकोत्सवको अवसरमा चीनको राजधानी बेइजिङमा एक ऐतिहासिक सैन्य परेड भएको छ।

थ्येनआनमन चोकमा आयोजित यस समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष सम्बोधन गर्दै चीनको ऐतिहासिक संघर्ष, राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वको महत्वलाई जोड दिए। राष्ट्रपति सीले समारोहको निरीक्षण पनि गरे, जसमा आधुनिक चिनियाँ सैन्य शक्तिको प्रदर्शन गरियो।

समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए। साथै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनसहित २६ राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले चीनको कूटनीतिक शक्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा विस्तार भएको संकेत दिएको छ भने, नेपाललगायतका राष्ट्रहरूको सहभागिताले क्षेत्रीय सहकार्य र ऐतिहासिक सम्बन्धलाई पुनः सुदृढ बनाएको देखिन्छ।

























