प्रहार समाचार । तनहुँ, १८ भदौ २०८२ बुधवार । जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेक बहादुर कार्कीको अगुवाइमा नयाँ कार्यसम्पादन प्रतिबद्धताको सुरुवात गरिएको छ।

प्रहरी प्रमुख कार्की र कार्यालय अन्तर्गतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट तथा कारागार सुरक्षा गार्डका प्रमुखहरूले वार्षिक कार्यसम्पादन सम्झौता तथा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौतामार्फत प्रहरी संगठनभित्र कार्यदक्षता, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको एसपी कार्कीले बताए। “प्रत्येक तहमा कामको जिम्मेवारी स्पष्ट हुनु र त्यसको मूल्याङ्कन हुनुले सेवा प्रवाहमा सुधार आउँछ,” उनले भने।

एसपी कार्कीले प्रहरी संगठनले जनताको विश्वास जित्न सेवा गुणस्तरमा ध्यान दिनुपर्ने उल्लेख गर्दै भने, – “सम्झौता केवल कागजी औपचारिकता मात्र नभई प्रहरीको प्रतिबद्धता र परिणाममुखी सेवातर्फको गम्भीरता समेत हो ।’
उनले संगठनभित्र लापरवाही, उदासिनता वा जिम्मेवारीबाट भाग्ने प्रवृत्ति नरहेको समेत उल्लेख गरे । “पारदर्शी र प्रभावकारी सेवा नै हाम्रो पहिचान बन्नुपर्छ,” प्रहरी प्रमुख कार्कीले थपे।
























