प्रहार समाचार । तनहुँ, १७ भदौ मङ्गलवार । प्रादेशिक अस्पताल दमौलीमा समाचार संकलनका क्रममा पत्रकारमाथि डाक्टरद्वारा गरिएको अभद्र व्यवहारको घटनाले विवाद निम्त्याएको छ। जनचाहना न्युज डटकमका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व उपाध्यक्ष एस.वि. नेपालीमाथि भएको घटनाले प्रेस स्वतन्त्रता नै संकटमा परेको संकेत देखिएको छ । पत्रकार नेपाली :

आज दिउँसो अस्पतालमा बिरामीको चाप बढेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार नेपालीसँग अस्पतालका डा. निराजन पन्थले दुर्व्यवहार गर्दै मोबाइल खोसी अडियो डिलिट गरेका थिए। पत्रकारले आफू पत्रकार भएको स्पष्ट परिचय दिई समाचार संकलनको उद्देश्य समेत खुलाएका थिए। यस्ताे अवस्थामा पत्रकारमाथि गरिएको व्यवहारलाई विभिन्न सञ्चार संगठनहरूले प्रेस स्वतन्त्रतामाथिको अतिक्रमणको रूपमा लिएका छन्।

नेपाल पत्रकार महासङ्घ तनहुँ र प्रेस सेन्टर नेपाल तनहुँले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै डा. पन्थको व्यवहारको तीव्र भर्त्सना गरेका छन्। उनीहरूले पत्रकारको नैसर्गिक अधिकार हनन गर्ने कार्यको निन्दा गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

महासङ्घका सचिव कृष्ण न्यौपाने र प्रेस सेन्टरका सचिव विनोद ढुंगानाले जारी गरेको विज्ञप्तिमा सञ्चारकर्मीहरू सुरक्षित र स्वतन्त्र वातावरणमा काम गर्न पाउने संवैधानिक हक सुनिश्चित गर्न सरोकारवालाहरूलाई जिम्मेवार बन्न पनि आग्रह गरिएको छ।
























