प्रहार समाचार । तनहुँ, १७ भदौ २०८२ मङ्गलवार । । तनहुँको व्यास नगरपालिका–४ मा रहेको सर्वकल्याण बचत तथा ऋण सहकारी संस्थामा एक करोड बढि रकम अपचलन भएको आरोपमा संस्थाका अध्यक्ष दमौलीका दीपक सिग्देललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सहकारीका चार खाता हराएको, सम्पूर्ण कारोवार विद्युतिय सफ्टवेयरमार्फत मात्रै संचालन गरिएको, तर सो सफ्टवेयरको ब्याकअप समेत नरहेको सूचनाका आधारमा ब्यास नगरपालिकाले अनुगमन गर्दा रु. १,०८,०६,५२८ बराबरको हिसाब फरक देखिएको थियो।
स्थानीय तहले पटक–पटक लेखापरीक्षण गरी रकम मिलान गर्न निर्देशन दिए पनि सिग्देल र समितिले बेवास्ता गर्दै आएका थिए।
“पटक–पटक रकम फिर्ता गर्छु भनेका थिए, तर धोका मात्र भयो” – आले :
शेयर सदस्य केहर सिँ आले सिग्देलले पटक–पटक हामीलाई रकम फिर्ता गर्छु भने पनि अहिलेसम्म रकम फिर्ता गरेनन् । त्यसैले प्रहरीकोमा आफू लगायत अन्य शेयर सदश्यहरु आउन बाध्य भएको प्रहार समाचारसङ्ग कुरा गर्दै बताए । शेयर सदस्यहरुकै उजुरीका आधारमा प्रहरीले सिग्देललाई हिंजो हिरासतमा लिएको थियो ।
उनले आफू मात्र नभई धेरै सदस्यको लाखौं रुपैयाँ डुबेको बताउँदै अहिले पनि जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमै न्यायका लागि बसिरहेको अर्की शेयर सदस्य मायाँदेवि भट्टराईले बताइन्। अहिले दमौली स्थित प्रहरी कार्यालय परिसरमा शेयर सदस्य हरुले हस्ताक्षर सङ्कलन गरिरहेका छन्। प्रहरी कार्यालय तनहुँमा जम्मा भएका पिडित शेयर सदस्यहरु :

दमौलीका प्रतिष्ठित व्यक्तिहरु प्रहरी परिसरमै भेला :
यसै बिच सहकारी घोटालाबाट ठगिएका पीडितहरूका साथै दमौलीका प्रतिष्ठित व्यवसायी, समाजसेवी, शिक्षक तथा सहकारीका शेयर सदस्य नागरिकहरू अहिले जिल्ला प्रहरी कार्यालय तनहुँ, दमौली परिसरमै भेला भएका छन्। उनीहरूले सिग्देलले आफ्नो सम्पूर्ण रकम फिर्ता नगरेसम्म नछाड्ने अडान लिएका छन्।
“सहकारीको नाममा सर्वसाधारणलाई ठगी गरेर हिँड्न पाइँदैन,” एक सदस्यले आक्रोश पोखे ।
मुद्दा दर्ता नहुने, मिलापत्रको तयारी :
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सिग्देललाई सहकारी ऐन २०७४ को दफा १२९ अनुसार नियन्त्रणमा लिइए पनि अहिलेसम्म मुद्दा दर्ता भएको छैन।
प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले दुई पक्षबीच मिलापत्रको तयारी भएकाले आजै सिग्देललाई परिवारको जिम्मा लगाएर छोड्ने प्रक्रिया अघि बढाइएको बताए पनि यो समाचार तयार पार्दा सम्म मिलापत्र भने हुन सकेको छैन् । उता पीडित शेयर सदस्यहरू भने सिग्देललाई कानूनअनुसार कारबाही गर्न माग गर्दै दबाब दिइरहेका छन्। उक्त सहकारी २०७८ सालबाट बचत कर्ताको रकम हिनामिना भएकाकारण बन्द रहँदै आएको छ। शेयर सदस्यहरुले सहकारीको सम्पूर्ण हरहिसाब अध्यक्ष सिग्देल सहित व्यवस्थापक चन्द्रा लामिछानेको मिले मतोमा गुमनाम पारिएको बताएका छन् ।
























