• विजय अधिकारी (प्रहार संवाददाता) चितवन, १४ भदौ २०८२ शनिवार । चितवनको भरतपुरमा गए रातीको समयमा भएको एक कार दुर्घटनामा वरिष्ठ चिकित्सकको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२ आँपटारी निवासी डा. विप्लव भट्टको कार शनिबार बिहान करिब १:३० बजे अनियन्त्रित भई रुखमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि पुरानो मेडिकल कलेज पुर्याइएको थियो तर उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटना रमाइलो चोकबाट विशाल चोकतर्फ जाँदै गरेको बा १५ च ४६९३ नम्बरको निजी कार अचानक अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा भएको हो । चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय रहेका डा. भट्टको असामयिक निधनले चितवनको चिकित्सक समुदायमा शोकको लहर फैलिएको छ । रातको समयमा एक्लै यात्रा गरिरहेका डा. भट्टको दुर्घटना पछाडि सम्भावित कारणहरू — तीव्र गतिमा सवारी, निद्रामा चलाएको सम्भावना वा सडकको अवस्था — पनि अनुसन्धानको दायरामा परेको प्रहरीले जनाएको छ ।
यस घटनाले पुनः एकपटक रातको समयमा सुरक्षित सवारीको आवश्यकता र सचेतनाको विषयलाई उजागर गराएको छ ।
























