• शंकरराज नहर्की / प्रहार समाचार । तनहुँ,१४ भदौ २०८२ शनिवार । अब विद्यालयहरू पढाइको केन्द्र मात्र नभई स्वास्थ्यको समेत जिम्मेवारी लिने संस्था बन्दै जाने भएका छन्। तनहुँका केहि सामुदायिक विद्यालयमा नर्स राख्ने निर्णयसँगै अब विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित हेरचाह हुनेछ। यसले विद्यालयलाई अझ जिम्मेवार बनाउने विश्वास गरिएको छ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा नर्स खटाउने विशेष निर्णय भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको पहलमा यो काम सुरु गरिएको हो। नगरपालिकामा रहेका ५ सयभन्दा बढी विद्यार्थीहरुको पहुँच भएका पाँच विद्यालयमा एक-एक जना नर्स तुरुन्तै खटाइने भएको हो । जस्कालागि विज्ञापन गरेर नर्सहरुको छनौंट समेत भैसकेको छ।

त्यसरी नर्सहरु खटाइने विद्यालयहरूमा पंचमुने देव मावि, तालवेशी मावि, खैरेनीटार मावि, जनकल्याण मावि र गाउँ फर्कौं दय मावि रहेका शुब्लागण्डकी नगरपालिकाले जनाएको छ।

पालिकाका नगर स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाका अनुसार नर्सहरू विद्यालयमा नियमित हाजिरी हुनेछन्। उनिहरुले विद्यार्थीहरूको नियमित रूपमा स्वास्थ्य परीक्षण नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका कार्यक्रमहरूलाई विद्यालयमा लागू गराउने काममा समेत सक्रिय हुनेछन् ।

उनिहरुले विद्यालयका किशोरीहरूलाई नियमित रूपमा आइरन चक्की खुवाइने छन्। जुकाको औषधि वितरण हुनेछ। सरसफाइ, पोषण, तत्काल विरामी भए प्राथमिक उपचार लगायतका विषयमा नर्सहरूले विद्यार्थीहरूलाई बुझाउनेछन्।
उनिहरुले विद्यालयको वार्षिक स्वास्थ्य कार्यतालिका तयार पारेर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीचको समन्वयमा कार्यक्रमहरू सञ्चालन गर्ने छन् ।

नर्सको जिम्मेवारी यतिमा मात्र सीमित छैन। विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमको समेत उनीहरूले अनुगमन गर्नेछन्। खाजामा अब जङ्क फूड प्रयोगमा प्रतिबन्द लगाइने छ। स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा मात्रै खुवाइनेछ।
विद्यार्थीहरू बिरामी भएमा नर्सहरूले उपचारमा सहजीकरण गर्नेछन्। आवश्यक परेमा अभिभावकहरूलाई विद्यालयमा बोलाएर स्वास्थ्य परामर्शसमेत दिने व्यवस्था मिलाउने छन्।
नगर प्रमुख कृष्णराज पण्डित यो अभ्यासले सामुदायिक विद्यालयप्रति समाजको विश्वास बढ्नुका साथै विद्यार्थी भर्ना दर पनि बढ्ने विश्वास लिन्छन्।
‘शिक्षा र स्वास्थ्य एक अर्कासँग जोडिएका कुरा हुन्। बच्चाहरू स्वस्थ भए मात्र पढाइमा ध्यान दिन सक्छन्। त्यसैले विद्यालयमै स्वास्थ्य सेवा पुर्याउने यस्तो कदमले सामुदायिक विद्यालयको स्तर उकास्न सघाउँछ ।’ नगर प्रमुख पण्डितले भने । क
शुक्लागण्डकी नगरपालिकाको यो अभियान लाई उदाहरणीय कदमको रूपमा लिइएको छ। शिक्षा नीतिमा स्वास्थ्यलाई पनि समावेश गर्ने यस्तो अभ्यासले देशभरिका स्थानीय तहहरूलाई प्रेरणा दिन सक्छ। सामुदायिक विद्यालयहरूलाई ‘कमजोर’ भन्ने पुरानो सोच हटाउँदै, जिम्मेवार, समावेशी र गुणस्तरीय शिक्षाको ढोका खोल्ने प्रयासका रूपमा यसलाई स्थानिय सरोकारलाहरुले लिएका छन्।
























