प्रहार समाचार । तनहुँ, १३ भदौ २०८२ शुक्रवार । ३९ वर्षे गर्भिलो शैक्षिक इतिहास बोकेको तनहुँको व्यास नगरपालिका वडा नं-१, विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसले १२औं अधिवेशन, साधारण सभा तथा ३९औं वार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

भोली बाट सुरु भई भदौ २० गते सम्म हुने वार्षिकोत्सवलाई मध्यनजर गरेर क्याम्पसले विविध कार्यक्रमहरू तय गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

जसमा स्वास्थ्य शिविर, शैक्षिक प्रदर्शनी, क्याम्पस स्तरिय सांस्कृतिक कार्यक्रम, सम्मान तथा संवाद सत्र तथा क्याम्पस सञ्चालक समितिको निर्वाचन समेत रहेका छन्। कार्यक्रमलाई सफल बनाउन विभिन्न समिति एवं उप समितिहरु गठन गरिएको छ।

सञ्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठ कार्यक्रममार्फत क्याम्पसको भौतिक पूर्वाधार, प्रविधिमैत्री शिक्षा प्रणाली र संस्थागत सुशासनको भावी योजना समेत प्रस्तुत गरिनेछ। उनले भने, “हाम्रो लक्ष्य क्याम्पसलाई समुदायसँग अझ जोड्दै गुणवत्तापूर्ण शिक्षा र प्रभावकारी प्रशासनको उदाहरण बनाउनु हो।” कार्यक्रममा स्थानीय सरोकारवालाहरू, पूर्वविद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका विशिष्ट व्यक्तिहरूको सक्रिय उपस्थिति रहने अपेक्षा गरिएको छ।
























