प्रहार समाचार । सङ्खुवासभा , १२ भदौ २०८२ बिहीवार । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माणमा बाधक बनिरहेका बेथिति, ढिलासुस्ती र सेवा प्रवाहमा देखिने कमजोरी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। सङ्खुवासभाको मादी माध्यमिक विद्यालयको हीरक महोत्सवमा सम्बोधन गर्दै उनले समुन्नत राष्ट्र निर्माणका लागि सुशासन, शीघ्र सेवा र जनमुखी प्रशासन पहिलो शर्त भएको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले भने- “एउटा ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा ढिलाइ हुनु केही हदसम्म स्वाभाविक भए पनि त्यसलाई बहानामा भ्रम फैलाउने प्रयास अन्ततः निस्तेज हुँदै जानेछ।’

राष्ट्रपतिले वर्तमान शिक्षा प्रणालीलाई प्रविधि, अनुसन्धान, कृषि, उद्यमशीलता र रोजगारीसँग जोडेर व्यवहारिक बनाउनु जरुरी रहेको धारणा राखे। ‘सीपमूलक शिक्षा, गाउँमै रोजगारी सृजना र श्रमको सम्मान गर्ने संस्कृतिले मात्र वैदेशिक पलायनलाई न्यूनीकरण गर्न सकिन्छ।’- राष्ट्रपति पौडेलको जोड थियो।

सङ्खुवासभाको जलविद्युत, कृषि, जडिबुटी र पर्यटनलाई समेटेर समृद्धिको नमूना बन्ने पूर्ण सम्भावना रहेको उल्लेख गर्दै उनले “देशको विकास कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगधन्दाको समन्वित विस्तारमै निर्भर छ” भन्ने धारणा व्यक्त गरे।
























