• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ । १२ भदौ २०८२ बिहिवार । लमजुङका दूधजङ गुरुङले छोराहरुले बुबाको मुख हेर्ने दिनमा दिएको रकम एक आमा समूहको सहयोगार्थ प्रदान गरेर उदाहाणीय कार्य गरेका छन्।

बेसीशहर नगरपालिका–१, घ्याउसीबास नयाँगाउँका समाजसेवी दूधजङ गुरुङले आफ्ना ६ जना छोराबाट उपहारस्वरूप प्राप्त ५५ हजार ५ सय रुपैयाँ उनले आफ्नै गाउँकै सिर्जना आमा समूहलाई सहयोग स्वरूप प्रदान गरेका हुन्। पिताको सम्मानमा दिइएको उक्त रकम समाजको हितमा खर्च गर्नु नै साँचो सन्तुष्टि हो भन्ने विश्वाससहित गुरुङले यो कदम चालेका हुन्।
सहयोग रकम सिर्जना आमा समूहको सभा हल तथा पक्की समाज भवन निर्माणका लागि प्रदान गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा गुरुङको सम्पूर्ण परिवारको उपस्थिति रहेको थियो। उक्त रकम समाजलाई प्रदान गर्दै गुरुङले आफ्नो सन्तानबाट प्राप्त मायालाई अझ अर्थपूर्ण बनाउन सामुदायिक कार्यमा लगानी गर्नु उचित ठानेको बताए। सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा सिर्जना आमा समूहकी अध्यक्ष दिलकुमारी गुरुङले उक्त सहयोगले समूहलाई थप उत्साहित बनाएको बताइन्।

गुरुङ परिवारको सामूहिक सोच र सामाजिक प्रतिबद्धताले गाउँमा सकारात्मक सन्देश फैलिएको छ। बुवालाई दिइएको मायालाई समाजप्रेममा रूपान्तरण गर्दै दाजुभाइ मिलेर रकम समाजमा खर्च गर्न पाएकोमा आफूहरू गर्वित र खुसी भएको गुरुङका कान्छा छोरा म्याक्स गुरुङले बताए। बुवाको मुख हेर्ने दिनको अवसरलाई समाजसेवामा रूपान्तरण गर्दै गुरुङ परिवारले सामाजिक एकता र दायित्वबोधको ज्वलन्त उदाहरण पेश गरेका छन्।



























