प्रहार समाचार । तनहुँ, १२ भदौ २०८२ बिहीवार । आज भाद्र शुक्ल पञ्चमीका दिन नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गर्दै ऋषि पञ्चमी मनाइरहेकी छन्।

बिहानै नदी, खोला वा पोखरीमा गई दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन रहेको छ। यसरी स्नान गरेपछि पञ्चगव्य सेवन गरिन्छ, जसले जीवनका दोष र पाप निवारण हुने धार्मिक विश्वास छ ।
नारीहरूले स्नान पछि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गर्छन्। प्राचीन किंवदन्ती अनुसार, ब्रह्म हत्या गर्दा बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको थियो। यही कारण नारीहरूले आजको दिन पूजा गर्दा रजस्वलासँग सम्बन्धित समस्याबाट मुक्त हुने विश्वास गरिएको छ ।
पूजा र स्नान पश्चात अन्नसाम, कागुनो, कन्दमूल र कर्कला खाई एक छाक हविष्य बस्ने परम्परा छ। महिलाहरू यसरी व्रत बसेर आस्था र परम्पराप्रति श्रद्धा देखाउँछिन् ।

काठमाडौँको वाग्मती नदि , तनहुँको देवघाट, दमौलीको मादी सेती नदी तथा अन्य खोला तथा नदिहरुमा नारीहरुले स्नान गरेर पवित्र भएर ऋषेश्वर मन्दिर तथा चौतारीहरुमा जम्मा भएर आज महिला भक्तजन हरुले पूजा अर्चना गर्नेहरुको क घुइँचो लागेको छ। ऋषि पञ्चमी परम्पराप्रति आस्था राख्नेहरूको लागि आजको दिन विशेष महत्व राख्छ।



























