प्रहार समाचार । काठमाडौँ, १२ भदौ २०८२ बिहीवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडे एक महिलाले सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको आरोपमा प्रहरी हिरासतमा परेका छन्।

काठमाडौँ जिल्ला अदालतले साइबर अपराध अनुसन्धानका लागि उनलाई चार दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए।
पीडित महिलाले पाँडेविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। उजुरीमा पाँडेले सामाजिक सञ्जालमार्फत आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लगाइएको छ। जाहेरी दर्ता भएपछि पाँडे बुधबार स्वेच्छिक रूपमा काठमाडौँस्थित साइबर ब्युरोमा उपस्थित भएका थिए। त्यसपछि उनलाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।
साइबर ब्युरोले प्रारम्भिक अनुसन्धान अघि बढाइरहेको बताउँदै घटनालाई गम्भीर रूपमा लिएको संकेत दिएको छ। पाँडे स्वयं एकजना सार्वजनिक व्यक्तित्व तथा पूर्व सरकारी अधिकारी भएकाले घटनाले थप चासो पाएको छ। यता, पाँडे पक्षबाट भने आरोपको खण्डन गर्दै घटनालाई नियोजित प्रपञ्चका रूपमा हेरिएको बताइएको छ। प्रहरीले चार दिनभित्र प्रारम्भिक तथ्य संकलन गरी अदालतमा प्रतिवेदन पेस गर्ने तयारी गरेको छ।
























