• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ , १२ भदौ २०८२ बिहीवार । देशभर ठेक्काको नाममा ढिलासु प्रवृत्ति हाबी भइरहँदा लमजुङको एक निर्माण आयोजनाले भने उदाहरणीय कार्य देखाएको छ। राईनास नगरपालिका–९ र दोर्दी गाउँपालिका–१ लाई जोड्ने तार्दीखोलामा निर्माण भइरहेको पक्की पुल तय गरिएको म्यादभन्दा नौ महिना अगावै सम्पन्न भएको छ।

निर्माण कम्पनी ओससिस आङबुहाङ जेभीले ५ करोड १२ लाखको लागत अनुमान गरिएको पुललाई ३ करोड १९ लाखमै सम्पन्न गरेर समयमै मात्र होइन, लागतमा समेत बचतसहित उदाहरणीय कार्य गरेको हो।
पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख नरेशराज जोशीका अनुसार, सम्झौता अनुसार समयभन्दा अगाडि सम्पन्न हुने योजनाहरू विरलै हुने गर्दछन्। तर यो पुल ती थोरै उदाहरणमध्ये एक हो। २०८२ चैतमा सम्पन्न हुने भनिएको पुल २०८१ को अन्त्यमै प्रयोगमा आउने अवस्थामा पुगेको छ। अब स्थानीयवासीलाई ओहोरदोहोरमा सजिलो हुने मात्रै होइन, विकासमा समेत गति थपिने विश्वास लिइएको छ।

यस सफलताको सन्देश स्पष्ट छ – इच्छाशक्ति, इमानदारी र व्यवस्थापन ठीक भए विकास समयमै, लागतमै सम्भव छ।
























