प्रहार समाचार । काठमाडौं, ११ भदौ २०८२ बुधवार । नेपाली लेखक सङ्घले सवारी साधनमा जडान गरिने इम्बोस्ट नम्बर प्लेट अंग्रेजी भाषामा मात्र हुनुपर्ने सरकारी निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ। संविधानले मान्यता दिएको राष्ट्रिय भाषा र लिपिको बेवास्ता गर्दै सरकारले विदेशी भाषालाई प्राथमिकता दिन खोज्नु राष्ट्रको पहिचानमाथिको प्रहार भएको सङ्घको भनाइ छ।

लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी र महासचिव सोझो गाउँलेले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा “नेपाली भाषामा नभई अंग्रेजी भाषामै नम्बर प्लेट राख्नुपर्ने निर्णयले नेपाली भाषाको अवमूल्यन गरेको छ” भन्दै तत्काल सरकारले आफ्नो नीति सच्याउन माग गरिएको छ। सङ्घले यसअघि पनि यस विषयमा असहमति जनाएको थियो तर सरकार अडानमा टस्ने नसकेको भन्दै चिन्ता प्रकट गरेको छ।

सन् २००७ सालको राजनीतिक परिवर्तनसँगै अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको नेपाली लेखक सङ्घले भाषिक अधिकारमाथि अतिक्रमण हुने कुनै पनि कदमको प्रतिवाद गर्ने चेतावनी दिएको छ। सङ्घका अनुसार, नेपाली भाषा नेपालको साझा सम्पर्कको भाषा मात्र नभई संविधानले सरकारी कामकाजको भाषा भनेर स्पष्टै व्यवस्था गरेको भाषामाथि सरकारकै निर्णयले चोट पुर्याउनु अत्यन्त विडम्बनापूर्ण रहेको छ।

























