प्रहार समाचार । तनहुँ, ११ भदौ २०८२ बुधवार । तनहुँको बन्दीपुर केवलकारद्वारा भएको खुला तीज गीत प्रतियोगिताको निर्णय विवादमा परेको छ।

जित्ने समूहले तीजको गीत भनेर ‘भजन’ प्रस्तुत गर्दा निर्णायकको निर्णयमाथि ठूलो विवाद चर्किएको छ। व्यासज्योति धर्म जागरण समूहले तीजको गीत भनेर ‘भजन’ गाएको , गाउँदा गाउँदै बिचमा नै अड्किएको भएपनि प्रथम घोषणा गरिएको भन्दै दोस्रो र तेस्रो हुने समूह तथा दर्शक हरुले विरोध गरेका हुन्। ।
हिंजो सम्पन्न फाइनलमा आठ समूह प्रतिस्पर्धामा उत्रिएका थिए। युनाइटेड क्लब पोखराले द्वितीय भए पनि उनीहरुले तत्कालै निर्णायकतर्फ औंला ठडाउँदै “निर्णय अन्यायपूर्ण छ, ‘भजन’लाई तीज गीतको नाममा जिताइयो” भन्दै मञ्चमै आक्रोश पोखेका थिए। प्रतियोगितामा पुर्कोट युनाइटेड तृतीय र ऋषिङ पाटन आमा समूह सान्त्वना भएको निर्णयकले घोषणा गरेका थिए ।

विजेता घोषित गरिएका प्रथमलाई १ लाख ११ हजार १११, द्वितीयलाई ५५ हजार ५५५, तृतीयलाई २५ हजार ५५५ र सान्त्वना समूहलाई ११ हजार १११ सहित प्रमाणपत्र प्रदान गरिएको थियो । तर निर्णायकले ‘भजन:लाई तीज गीत ठानेर पहिलो बनाएको निर्णयले प्रतियोगिताको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।

भदौ ६ देखि १० गतेसम्म चलेको प्रतियोगितामा २८ समूह सहभागी भएका थिए। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड मुख्य प्रायोजक रहेको कार्यक्रममा निर्णायकको भूमिकामाथि उठेको शंका र आरोपले भने ‘तीज गीत प्रतियोगिता’लाई नै विवादास्पद बनाइदिएको छ।

























