हेडलाईनसमाचारगण्डकी

पदमै रहँदै वडाध्यक्ष विदेश पलायन : जनप्रतिनिधिको भूमिकामा प्रश्न

• विजय अधिकारी ( प्रहार संवाददाता ) । गोरखा, ११ भदौ २०८१ बुधवार । पदमै रहँदै यहाँका एक जनप्रतिनिधि रोजगारीका लागि विदेश हानिएका छन्।

गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा रोजगारीका लागि जर्मनी हानिएका हुन् । । सामाजिक सञ्जालमार्फत उनले राजनीतिबाट सदा कै लागि विदा लिएको घोषणा गर्दै आफूले इमान्दारीपूर्वक काम गरे पनि कहिल्यै ‘जस’ नपाएकाले विदेशिन बाध्य भएको बताएका छन्।

लामाले लेखेका छन्, – ‘सकेसम्म सबैलाई चित्त बुझाउने गरी काम गरेँ, तर कहिल्यै आत्मसन्तुष्टि पाउन सकिनँ। त्यसैले अब राजनीतिबाट पूर्णरूपमा टाढिएर जिन्दगीलाई फेरि शून्यबाट सुरु गर्न चाहन्छु।’ उनका अनुसार अब राजनीतिमा फर्किने सम्भावना छैन।

वडाध्यक्ष अनुपस्थित भएपछि वडाका सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार, लामाले औपचारिक राजीनामा भने अझै पेश गरेका छैनन्। “कार्यवाहक तोकेर विदेश गएका रहेछन्, नफर्किने भन्ने खबर आएको छ। पछि राजीनामा पत्र पनि आउला भन्ने अपेक्षा छ,” उनले बताए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित लामा अचानक विदेशिएको घटनाले गाउँमै चर्चा र प्रश्न खडा गरेको छ। निर्वाचित जनप्रतिनिधि नै जिम्मेवारीकै बीचमा विदेश पलायन हुँदा जनप्रतिनिधिको उत्तरदायित्व र जवाफदेहितामाथि नै गम्भीर बहस शुरु भएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button