प्रहार समाचार । तनहुँ, ११ भदौ २०८१ बुधवार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा प्रहरीले आज विशेष चेकजाँचका क्रममा दुई युवकलाई नशालु औषधिसहित नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी मुग्लिङ पुलजिपको टोलीले यात्रुवाहक बस रोकेर तलासी गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा नियन्त्रित औषधि फेला परेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका–७ का २२ वर्षीय विनोद सुनार र तनहुँ जिल्ला व्यास नगरपालिका-१२, घासिँकुवाका २३ वर्षीय सन्तोष बिक रहेका छन्। बिरगञ्जबाट पोखरा–बागलुङतर्फ जाँदै गरेको ग.२ ख. ००८९ नम्बरको यात्रुवाहक बसमा सवार रहेका उनीहरूले फाइबरको झोलामा औषधि लुकाइ ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको झोलाबाट निद्रालाग्ने डाइजेपाम ४७ थान, शरीरमा सुन्न लगाउने फिनरगन ४७ थान र नशालु प्रभाव हुने बुप्रेनोर्फिन ४७ थानसहित कुल १ सय ४१ थान औषधि बरामद भएको छ। पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको प्रहरीले जनाएको छ।

























