हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकाद्वारा ढुंगा-गिटी उत्खनन टेन्डर आव्हान गर्ने निर्णय

प्रहार समाचार । तनहुँ, ८ भदौ २०८१ आइतवार । तनहुँको व्यास नगरपालिकाले ढुंगा, गिटी र बालुवा उत्खननलाई व्यवस्थित बनाउन टेन्डर प्रक्रियामार्फत अघि बढाउने भएको छ।

नगर कार्यपालिकाको आज बसेको नियमित बैठकले वातावरणीय तथा प्राविधिक प्रतिवेदनका आधारमा वडा नं. १३ र १४ मा पर्ने सेती नदीतर्फ र वडा नं. ५, ६, ७, १० मा पर्ने मादी नदीतर्फ उत्खनन कार्य प्रदेश कानुन र व्यासनगर आर्थिक ऐन २०८२ अनुसार तोकिएको दररेटमा टेन्डरमार्फत अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।

नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विगतका निर्णयको समीक्षा गर्दै नर्सिङ शिक्षा (प्रसूति सेवा) अध्ययन छात्रवृत्ति वितरणसम्बन्धी कार्यविधि २०८२ पारित गर्ने, आन्तरिक आम्दानी संकलन, सडक तथा नाला सरसफाइ, जेब्रा क्रसिङ निर्माण, टोल विकास संस्थासँग सहकार्य गर्ने लगायतका निर्णयहरू पनि गरेको छ। श्रावण महिनामा मात्रै नगरपालिकाले करिब १ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको जानकारी पनि बैठकमा प्रस्तुत गरिएको थियो।

यसैगरी बैठकले हरितालिका तीज (भदौ १०) मा सार्वजनिक बिदा दिने, सामाजिक सुरक्षा भत्ता नवीकरण तथा खाता खोल्न बाँकी व्यक्तिलाई तत्काल प्रक्रिया पूरा गर्न लगाउने, विज्ञापन बोर्ड र भित्ते लेखनलाई नियमन गर्ने, ऐतिहासिक–धार्मिक स्थलहरूको सरसफाइ तथा नियमित पूजाआजामा सहयोग गर्ने, ऋणी र बैंकबीच देखिएका विवादमा नगरपालिकाले मध्यस्थता गर्ने लगायतका निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत काशी राम गैरेको सरुवासँगै उनलाई धन्यवाद ज्ञापन गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई स्वागत गर्ने निर्णय पनि गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button