प्रहार समाचार । तनहुँ, ,७ भदौ २०८२ शनिवार । तनहुँको आबुँखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङदी नदी किनारमा आज बिहान फेला परेको अन्दाजी ३०–३५ वर्षको जस्तो देखिएको शवको सनाखत भएको छ।

बिहान करिब साढे ६ बजे वेवारिसे अवस्थामा शव भेटिएको स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको टोलीले मुचुल्का उठाएको थियो।
शवको पहिचान खोजी गर्ने क्रममा मृतक चितवन कालिका नगरपालिका–१० छेरबाङ घर भई हाल लम्जुङ दोर्दी गाउँपालिका–३ मा सञ्चालित उत्तर देवी कृषि फर्ममा काम गर्दै आएका १९ वर्षीय उत्तरकुमार प्रजा भएको खुलेको हो। प्रजा भदौ २ गते दिउँसो करिब १ बजे दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेका थिए भन्ने कुरा उनका दाजु चन्द्रकुमार प्रजाले पुष्टि गरेका छन्।
मुचुल्का उठाइएपछि शवको अहिले दपौली अस्पतालमा पोष्टमार्टम भइरहेको र पोस्टमार्टम पछि अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले बतायो ।

























