• चन्द्रकला कमली ( नहर्की ) / प्रहार समाचार । तनहुँ, ७ भदौ २०८१ शनिवार । विपन्न र सिमान्तकृत समुदायमा जन्मिए पनि दृढ संकल्प र अवसरको सदुपयोगले सफलता हात पार्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन्—आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा ।

गाउँपालिकाको पूर्ण छात्रवृत्ति (आवास/गाससहित १ लाख १० हजार) मा अध्ययन गर्दै उनले रामशाह मा.वि.बाट कक्षा १२ (+2) उत्तीर्ण गर्दै चेपाङ समुदायको इतिहासमा पहिलो विद्यार्थी बन्न सफल भएका छन् ।
उनको यस उपलब्धि केवल व्यक्तिगत विजय मात्र नभई सम्पूर्ण चेपाङ समुदाय र पालिकाकै गौरवको विषय बनेको छ । यसै अवसरमा गाउँपालिका अध्यक्ष शुक्र चुमानले अमृतसँग विशेष भेटघाट गर्दै उच्च शिक्षाको बाटो सहज बनाउन पालिकाबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष चुमानका अनुसार, “अमृतले सिमान्तकृत समुदायलाई सम्भावना देखाएका छन्, पालिका उनको सपनालाई अझै ठूलो बनाउन साथ दिन्छ ।”

भेटमा चेपाङ, भुजेललगायतका समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने दीर्घकालीन रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउन सक्ने उपाय, र सिमान्तकृत समुदायलाई समग्र विकास प्रक्रियामा सशक्त सहभागी बनाउने योजनाबारे पनि विस्तृत छलफल गरिएको थियो । अमृतको संघर्ष र सफलताले अब चेपाङ समुदायका अन्य बालबालिकालाई शिक्षा प्राप्तिको यात्रामा अघि बढ्न बलियो प्रेरणा दिने विश्वास पालिकाले व्यक्त गरेको छ ।

























