प्रहार समाचार । तनहुँ, ७ भदौ २०८२ शनिवार । व्यास नगरपालिका–२ का युवा नेता दीपक राज जोशीसहित दमौली नगरवासीहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पृथ्वीराजमार्ग अन्तर्गत दमौली क्षेत्रमा अन्डरपास निर्माण गर्न आग्रह गरेका छन्।

उनीहरूले तीव्र गतिमा सञ्चालन हुने सवारीसाधनका कारण पैदलयात्री तथा सर्वसाधारणलाई बाटो काट्न जोखिमपूर्ण परिस्थिति सिर्जना भएकाले अन्डरपास अब अपरिहार्य भएको प्रष्ट पारेका छन्।

ज्ञापनपत्रमा सडक चौडा र तीव्र गतिमा सञ्चालन हुन थालेपछि दैनिक आवागमनमा स्थानीय बासिन्दाको सुरक्षा गम्भीर चुनौती बनेको उल्लेख गरिएको छ। “सडक निर्माणको प्रारम्भिक चरणमै अन्डरपासको व्यवस्था गरिदिएको भए न्यूनतम लागतमै काम सम्पन्न हुनेथियो, तर अझै पनि ढिलो भएको छैन,” पत्रमा भनिएको छ। सुरक्षित आवागमन सुनिश्चित गर्न छिटोभन्दा छिटो अन्डरपास निर्माण गरी सम्भावित दुर्घटना न्यूनिकरण गर्न सरकारलाई आग्रह गरिएको छ।

दमौलीवासीहरूको सामूहिक मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई समेत बोधार्थ पठाइएको छ। स्थानीयवासीले अन्डरपास निर्माणलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन नगरे गम्भीर दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिंदै जनताको जीवन र सुरक्षालाई प्राथमिकतामा राख्न सरकारसँग जोडदार आग्रह गरेका छन्।


























