हेडलाईनसमाचारप्रदेश

शिक्षा विधेयकप्रति असन्तुष्ट शिक्षक महासंघ : चरणबद्ध आन्दोलन घोषणा

प्रहार समाचार । काठमाडौं । शिक्षा विधेयकले आफ्ना माग बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको बाटो रोजेको छ। विगतमा विद्यालय ठप्प पारेर दबाब सिर्जना गरेको महासंघले यसपटकको आन्दोलन अझ कडा र दबाबपूर्ण हुने चेतावनी दिएको छ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्दै प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख दलका सचेतकलाई भदौ ९ गते ध्यानाकर्षण पत्र बुझाउने घोषणा गरेको हो।

कार्यक्रमअनुसार भदौ ११ देखि २० गतेसम्म काठमाडौंस्थित सबै दलका कार्यालय अगाडि २ घण्टे धर्नासहित ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते जिल्लागत समन्वय इकाइमार्फत ध्यानाकर्षण पत्र बुझाउने र धर्ना दिने योजना महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

उनका अनुसार सरकारले माग पूरा नगरे दोस्रो चरणमा भदौ २१ गतेदेखि अझै कडा र व्यापक आन्दोलन सुरु गर्ने तयारी छ। “हिजोभन्दा कडा आन्दोलन हुन्छ, २७ बुँदे सहमति नै हाम्रो बटमलाइन हो,” अध्यक्ष सुवेदीले चेतावनी दिए।

गत चैत २० देखि वैशाख १७ सम्म विद्यालय बन्द गरेर दबाब सिर्जना गरेको शिक्षक महासंघले वार्तापछि आन्दोलन स्थगित गरेको थियो। तर, अहिले शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछि महासंघले यसलाई अपूरा माग र बेवास्ता भएको भन्दै असन्तुष्टि जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button