• चन्द्रकला नहर्की/ तनहुँ, ६ भदौ २०८१ शुक्रवार । । तनहुँको भानु नगरपालिका–२ पाउतुरे खोलास्थित पुलमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । डुम्रे–बेसिसहर सडकखण्डमा तुरतुरेतर्फबाट डुम्रे आउँदै गरेको लु ३८ प ४२८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पर्खाल नाघेर करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरखा पालुङटार–४ का ५० वर्षीय अर्जुन ब. अछामी र सल्यान दार्मा–६ की २६ वर्षीया प्रतिभा देवकोटा घाइते भएका छन् । अछामीको खुट्टा र आँखामा चोट लागेको र देवकोटाको खुट्टा तथा आँखामा समेत चोट लागेको छ । प्रारम्भिक उपचारपछि उनीहरूलाई डुम्रेको लक्ष्मी अस्पतालमा भर्ना गरिएको थियो ।
लक्ष्मी अस्पतालमा उपचारपछि अवस्था गम्भीर देखिएपछि चालक अछामीलाई थप उपचारका लागि पोखरास्थित फेवासिटी अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त मोटरसाइकल भने प्रहरी चौकी भन्सारको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
























