हेडलाईनसमाचारसुदुर पश्चिमस्वास्थ्य

‘आधुनिक उपकरण र पर्याप्त मानवस्रोतले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित हुन्छ ।’ – स्वास्थ्य मन्त्री पौडेल

• चन्द्रकला कमली ( नहर्की ) धनगढी, ६ भदौ २०८२ शुक्रवार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य पूर्वाधार विस्तारको अभियानलाई तीव्रता दिँदै शुक्रबार धनगढीस्थित गेटा अस्पतालमा मोड्युलर ल्याब र ३० शय्याको आकस्मिक सेवा विस्तारको उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा मन्त्री पौडेलले सुदूरपश्चिमका नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्राथमिकताका साथ लगानी गरिरहेको उल्लेख गर्दै आधुनिक उपकरण र पर्याप्त मानवस्रोतले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित हुनेमा जोड दिए।

यसै क्रममा उनले डडेल्धुरा अस्पतालमा डायलाइसिस सेवा सञ्चालनको शुभारम्भ गरेका छन् भने डोटीको पूर्वीचौकी गाउँपालिकामा नवनिर्मित १० शय्याको अस्पताल पनि उद्घाटन गरेका छन्। डडेल्धुरामा बोल्दै उनले स्थानीयस्तरमै उपचार सुविधा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै सेवा पहुँचका हिसाबले यसलाई ऐतिहासिक उपलब्धि बताएका छन्।

मन्त्री पौडेलले गेटा अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्दै मेडिकल कलेज (एमबीबीएस) सञ्चालन गर्ने र डडेल्धुरा अस्पताललाई समेत ३०० शैया क्षमतामा विस्तार गर्ने कार्य अघि बढेको जानकारी दिए। उनका अनुसार दुबै अस्पताल सञ्चालनका लागि अस्थायी दरबन्दी स्वीकृत भइसकेको छ भने सञ्चालन बजेट समेत सुनिश्चित गरिएको छ।

स्वास्थ्य सेवा विस्तारका यी पहललाई सम्भव बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै मन्त्री पौडेलले आगामी दिनमा अझ प्रभावकारी ढंगले स्वास्थ्य पूर्वाधार र सेवाको पहुँच बढाइने प्रतिबद्धता जनाएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button