प्रहार समाचार । तनहुँ, ५ भदौ २०८१ बिहीवार । व्यास–११ बेल्टारीमा नेपाली कांग्रेस वडा कार्यसमिति र नेपाल महिला संघको आयोजनामा आयोजित हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नयाँ राजनीतिक दलहरूलाई अवरवादी, जनतालाई झुक्याउने र ठग्ने गरेको प्रमाणित भएको बताएका छन् ।

आज आयोजित उक्त कार्यक्रममा बोल्दै भट्टराईले कांग्रेसलाई विकासप्रेमी पार्टीका रूपमा परिचित गराउँदै तनहुँ जिल्लामा खानेपानी लगायतका आधारभूत पूर्वाधार निर्माण गर्न आफु निरन्तर लागेको र लाग्ने बताए । उनले तनहुँका जनताको सुख–दुःखमा सधैं काँध मिलाएर साथ दिने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले महिलाको सशक्तीकरण र मौलिक संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने धारणा राखे।

कर्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे बि क, नेता समुन्द्र गोदार, नेपाली कांग्रेस नगर सभापति सूर्यचन्द्र हड्खले, नेका व्यास ११ का सभापति ले. देबबहादुर थापा, नेपाल महिला संघ व्यास ११ का निवर्तमान सभापति इन्दिरा अधिकारी लगायतका वक्ताले शुभकामना व्यक्त गरेका थिए। नेपाल महिला संघ व्यास–११ का सभापति सिता खनालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आमा–दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम महिला संघ व्यास–११ की सचिव दिपा दरै, सहसचिव विमला अच्छामीले सहजिकरण गरेका थिए ।

























