प्रहार समाचार । काठमाडौं, ५ भदौ २०८२ बिहीवार । सरकार ‘नारा र योजनामा’ व्यस्त रहँदा, महावीर पुन भने आफ्नै बलबुतामा समाजलाई दिशानिर्देश दिइरहेका छन्। पाँच सय दिनसम्म महाकालीदेखि मेचीसम्म यात्रा गर्दै उनले बेचेको आत्मकथाबाट २ लाख ३० हजारभन्दा बढी प्रतिलिपि बिक्री भई करिब १२ करोड रुपैयाँ संकलन भयो। यही रकमले बीरगञ्जस्थित बन्दप्रायः कृषि औजार कारखानामा नयाँ जीवन फिर्ता आएको छ।

पुनले संकलित पैसाले मर्मत गरिएको उक्त कारखानामा अहिले ४० जनाले रोजगारी पाएका छन्। तर, सरकारी प्राथमिकता भने विदेशी आयातमा झुकेको छ। पुनको शब्दमा, ‘सरकारले देखेको भए, यसरी पुस्तक बेचेर कारखाना चलाउने काम मेरो होइन, राज्यले गर्नुपर्ने हो।’

यो घटनाले सरकारलाई कडा प्रश्न तेर्स्याएको छ – जब एक व्यक्तिले आफ्नो आत्मकथाबाटै करोडौँ संकलन गरेर रोजगारी सिर्जना गर्न सक्छन्, तब अरबौंको बजेट बोकेको सरकारले किन उद्योग धन्दा उक्साउन सक्दैन ? पुनको अभियानले स्पष्ट सन्देश दिएको छ – उदासीन सरकारले पन्छिनु परे पनि, सचेत नागरिक र साना–साना पहलले देशलाई अघि बढाउन सक्छ।
























