प्रहार समाचार । तनहुँ, ४ भदौ २०८१ बुधवार । कर्मचारी मिलन केन्द्र तनहुँले जिल्लाबाट सरुवा भई अन्यत्र जाने चार उच्च पदस्थ अधिकृतलाई जिल्ला प्रशासन कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच विदाई गरेको छ । तस्बिर : प्रहार अनलाईन मिडिया

मिलन केन्द्रका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षता र केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा तनहुँ जिल्ला अदालतका माननीय न्यायधीश कमल राज बिष्ट, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे र बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यलाई बिदाई तथा फेरि भेटौला कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सरुवा प्रक्रिया सेवाजगत्को सामान्य नियम र प्रक्रिया भएको उल्लेख गर्दै, तनहुँमा रहँदा पुऱ्याएको योगदान यहाँका कर्मचारी र सेवाग्राही दुवैका लागि प्रेरणादायी बन्ने धारणा व्यक्त गरे ।
त्यस्तै, अध्यक्ष सिंहले तनहुँमा बहाल रहँदा न्यायिक र प्रशासनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका अधिकृतहरूको स्मरण गर्दै, “आजको विदाई विछोड होइन, फेरि भेट्ने भरोसाको अवसर हो,” भन्दै भविष्यमा पनि उनीहरूको सफल सेवाकालको शुभकामना व्यक्त गरे ।

























