प्रहार समाचार । काठमाडौँ, ३ भदौ २०८२ मङ्गलवार । नेपालमा मनसुन केही कमजोर देखिए पनि बंगालको खाडीबाट निरन्तर जलवाष्पयुक्त हावा भित्रिरहेकाले वर्षाको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरिरहेकाले वर्षाको तीव्रता सामान्य भए पनि निकट दिनमा वर्षा हुने क्रम रोकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही भू–भागमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशसहितका पहाडी भू–भागमा साधारण बदली रहने विभागले जनाएको छ। कोशी प्रदेशका पहाड तथा तराईमा मध्यम वर्षासँगै कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
























