प्रहार समाचार । काठमाडौं,२ भदौ २०८२ सोमवार । देशभर मनसुन सक्रिय भए पनि अझै कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्यतया बदली रहने अनुमान छ भने बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने देखिएको छ । बाँकी पहाडी क्षेत्रमा समेत छिटफुट वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले यसको सक्रियता केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी छ । यसैबीच, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।
























