प्रहार समाचार । काठमाडौँ, २७ साउन २०८१ मङ्गलवार । मनसुनको न्यून चापीय रेखा सरदरभन्दा उत्तरतिर सरकँदै नेपाल नजिकै सक्रिय बनेपछि देशका विभिन्न भागमा भारी वर्षा भएको छ। गएराति संखुवासभा, सिन्धुपाल्चोक, कास्की, दाङ, बाँकेलगायतका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकासहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका धेरै स्थान र मधेशसहित अन्य केही भागमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीको पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा र मधेश, कोशी र बागमतीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिइएको छ। गण्डकी र लुम्बिनीको तराई भूभागका केही स्थानमा पनि भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
























