प्रहार समाचार । कैलाली, २४ साउन २०८२ शनिवार । कैलाली जिल्ला कारागारमा हिंजो राति कैदीबन्दीका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

मृतक धनगढी–४ का ४० वर्षीय भरत चौधरी लागुऔषध मुद्दामा थुनामा थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार चौधरी गम्भीर घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएका थिए, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
राति करिब १ बजे भएको उक्त झडपमा ४७ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेर आईसीयूमा उपचार भइरहेको छ भने बाँकीको सामान्य उपचार भइरहेको छ। मृतक चौधरीको शव सेती प्रादेशिक अस्पतालमै राखिएको छ।
झडपको कारणबारे प्रष्ट खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कारागारभित्र कैदीबीच हिंसात्मक घटना भएसँगै सुरक्षा व्यवस्था कडाइ गरिएको प्रहरीले जनाएको छ।


























