हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज जनैपूर्णिमा : देशभर धुमधामकासाथ मनाइँदै

प्रहार समाचार । तनहुँ, २४ साउन २०८२ शनिवार । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर वैदिक परम्पराअनुसार मनाइँदै छ।

बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, पोखरी, ताल वा तलाउमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्न र नयाँ जनै धारण गर्न मन्दिर तथा तीर्थस्थलमा पुगेका छन्। यस अवसरमा काठमाडौंको पशुपतिनाथ, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती किनार र देशका विभिन्न मठमन्दिरमा भक्तजनको भीड लागेको छ।

धार्मिक विश्वासअनुसार ‘येन बद्धो बलिराजा…’ मन्त्र उच्चारण गर्दै बाँधिने रक्षासूत्र नकारात्मक शक्तिबाट सुरक्षा दिने मान्यता छ। पौराणिक कथाअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान बनाई दानवराज बलिसमेत बाँधेका थिए, सोही प्रसङ्गबाट रक्षाबन्धनको परम्परा सुरु भएको मानिन्छ। यसैदिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीहरूले आफ्नो पुरानो जनै फेर्ने चलन छ।

जनैपूर्णिमाअघि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बस्ने तागाधारीहरूले पूर्णिमाको बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका प्रयोग गरी श्रावणी स्नान गर्छन्। त्यसपछि जौ, तिल र कुशद्वारा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यसहित अरुन्धतीलाई तर्पण गर्ने परम्परा रहँदै आएको छ। जनैलाई वैदिक परम्परामा ब्रह्मसूत्र अथवा ‘ज्ञानको धागो’ पनि मानिन्छ।

यस पर्वमा ११ थरी गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ। क्वाँटी खाँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने, पाचन तन्त्र सफा हुने र वर्षायामभरको चिसो हटाइ शरीरमा ताप सञ्चार हुने आयुर्वेदिक मान्यता छ। धार्मिक विधि, सामाजिक एकता र स्वास्थ्य लाभको सन्देशसहित यो पर्व देशभर उत्साहपूर्वक मनाइँदै छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button