प्रहार समाचार । काठमाडौँ, १८ साउन २०८२ आइतवार । देशभर मनसुन सक्रिय रहेकाले आज देशका अधिकांश भागमा मौसम बदली र वर्षा हुने छ। बिहानैदेखि कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेश प्रदेशका आठवटै जिल्लामा समेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो र राति सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेकोले देशभर सामान्य बदली छ। मौसमविद्हरूका अनुसार तराई र पहाडी भूभागमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सुरक्षा उपाय अपनाउन नागरिकलाई आग्रह गरिएको छ।

























