प्रहार समाचार । तनहुँ, १६ साउन २०८२ शुक्रवार । विश्व स्तनपान सप्ताह (अगष्ट १–७) को शुभारम्भ र प्रथम राष्ट्रिय कोदो दिवस २०८२ आज व्यास नगरपालिकामा संयुक्त रुपमा मनाइएको छ। मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनसँगै पोषणीय रैथाने अन्नबालीको प्रवर्द्धनको सन्देश बोकेको कार्यक्रममा विविध पक्षका वक्ताहरूले आफ्ना धारणा राखे। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

कार्यक्रममा व्यास नगरका नगरप्रमुख बैकुण्ठ न्यौपानेले रैथाने बाली कोदो, फापर, कागुनो जस्ता बालीलाई नगरले प्रोत्साहन गर्ने बताए। उनले भने, “स्थानीय उत्पादनमा आधारित कृषि प्रणालीले पोषण सुरक्षामा योगदान दिनेछ।”

उप–प्रमुख इन्दिरा दरैले मातृ–शिशु स्वास्थ्यमा स्तनपानको योगदान अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरिन्।

प्रमुख प्रशासकीय अधिकृत काशिरामम गैरे ।ले कोदोका उत्पादन बढाएर त्यसबाट बनेका परिकारहरूको ब्रान्डिङमा नगरपालिका लाग्ने बताए।

व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले स्थानीय बाली बचाउन सामूहिक पहल आवश्यक भएको बताए।
कृषि तथा पशुपन्छी शाखाका प्रमुख डा. मन्जोज विश्वकर्माले कोदोको उत्पादन घट्दो क्रममा रहेको जानकारी दिँदै गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ७५ करोड बराबरको कोदो आयात गरेको जानकारी दिए।

स्वास्थ्य शाखाकी अधिकृत कल्पना कोइराला दाहालले स्तनपानसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै २०–२४ वर्ष उमेर समूहका आमाहरूले बढी स्तनपान गराउने गरेको तर त्यसपछिका उमेर समूहमा दर घट्दै गएको बताइन्।

कोदोका विविध पक्षमा कार्यपत्र प्रस्तुत गर्दै कृषि अधिकृत समीक्षा अधिकारीले यसको पोषणीय, आर्थिक र सांस्कृतिक पक्षको चर्चा गरिन्।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले ६० प्रतिशत मृत्यु सरुवा नभएका रोगका कारण हुने बताउँदै क्याल्सियम र आइरनयुक्त कोडो सुत्केरी महिलाका लागि विशेष लाभदायी हुने बताए।

केशवटार होमस्टेका अध्यक्ष सरस्वती थापाले पहिला दलित र गरिबको अन्न मानिने कोदो र कागुनो अहिले उपभोक्तामाझ लोकप्रिय बन्दै गएको बताइन्। कोदोबाट बन्ने रक्सीको माग समेत बजारमा तीव्र रूपमा बढेको उनले जानकारी दिइन्।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले कोदोको संरक्षण र प्रवर्द्धनमा सञ्चारकर्मीले समेत भूमिका खेल्नुपर्ने धारणा राखे। त्यस अबसरमा सहभागीहरु लाई केशवटार होम स्टेका महिलाहरुद्वारा स्थानिय उत्पादन कोदोको सेलरोटी र गुन्द्रुक र भटमासको अचारको खाजा का परिकारहरू खुवाएका थिए ।


























