प्रहार समाचार । तनहुँ, १६ साउन २०८२ शुक्रवार । विदेशी अवसरको खोजीमा देश छाडेका युवालाई पुनः स्वदेश फर्काउने उद्देश्यसहित हिमानी कोषले ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान सुरु गर्ने भएको छ। युवामा बढ्दो विदेश मोह र त्यसबाट उत्पन्न ‘ब्रेन ड्रेन’ समस्यालाई सम्बोधन गर्न शनिबार (साउन १७) सानेपास्थित इन्टरनेशनल क्लबमा विशेष कार्यक्रम ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम आयोजना हुने भएको छ।

कोषकी सदस्य शुभेच्छा शाहका अनुसार, कार्यक्रममा युवा पुस्तालाई सल्लाह, प्रेरणा र व्यावसायिक अवसरहरूबारे जानकारी दिइनेछ। विशेषतः स्वदेशमै उद्यम सुरु गर्न चाहने नवप्रवेशीलाई सहयोग गर्न ‘लघु-बीज घुम्ती कोष’ स्थापना गरिने योजना छ, जसबाट प्रारम्भिक लगानी अभावमा अल्झिएका युवा परियोजनाहरूलाई जीवन्त बनाउने प्रयास हुनेछ।

उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, कोष अध्यक्ष हिमानी शाहसहित पूर्वराजपरिवारका सदस्यहरू, उद्योगी, व्यवसायी र सामाजिक क्षेत्रका अगुवा व्यक्तिहरूको सहभागिता रहनेछ। अभियानले युवाको क्षमता स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्न र दीगो रोजगारीतर्फको यात्रा प्रारम्भ गर्न सक्ने अपेक्षा गरिएको छ।


























