
पर्वतीय पर्यटन व्यवसायमा समर्पित सम्पूर्ण श्रद्धेय अग्रज, सम्माननीय व्यवसायी मित्रहरू र समकालीन सहयात्रीहरूप्रति हार्दिक नमन एवं सम्मान प्रकट गर्न चाहन्छु।
सन् १९९२ देखि आजसम्म, यहाँहरूसँगै रही पर्वतीय पर्यटन क्षेत्रको सेवा गर्ने अवसर पाउनु मेरो लागि गौरवको विषय हो। तीन दशकभन्दा लामो यो यात्रामा हामीले अनेकौँ चुनौतीहरूका बाबजुद उल्लेखनीय प्रगति हासिल गरेका छौँ। व्यवसायिक सहकार्य, पारस्परिक विश्वास र साझा संकल्पको बलमा आज यो क्षेत्र देशको समृद्धिका एक प्रमुख आधारका रूपमा स्थापित हुँदै गएको छ।
यसै सन्दर्भमा, नेपाल पर्वतारोहण सङ्घ (NMA) को आसन्न निर्वाचनले हामीलाई एउटा महत्वपूर्ण मोडमा ल्याइपु¥याएको छ। यो निर्वाचन केवल पदाधिकारी चयन गर्ने प्रक्रिया मात्र होइन; यो हाम्रो साझा संस्था, यसको गरिमा, व्यावसायिकता र भविष्यमाथिको प्रतिबद्धताको पुनः पुष्टि गर्ने अवसर हो।
सङ्घमा पूर्ववर्ती अनुभव, यहाँहरूको सहयोग र मेरो निष्ठाको जगमा, मैले आगामी कार्यकालका लागि नेपाल पर्वतारोहण सङ्घको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। यस निर्णयको मूल मर्म मेरो ज्ञान, अनुभव र समयलाई सङ्घको सुदृढीकरण, नीति निर्माण, पारदर्शी प्रशासन तथा पर्यटन व्यवसायको समग्र हितमा समर्पित गर्नु हो।
संगठनमा आधारित समावेशी नेतृत्व, नवप्रवर्तनशील योजना र व्यवसायमैत्री वातावरण निर्माण मेरा प्राथमिक लक्ष्यहरू हुन्। विशेषगरी अन्तर्राष्ट्रिय पर्वतीय बजारमा नेपालको छवि अझ सशक्त रूपमा प्रस्तुत गर्न, पर्वतारोहणमा संलग्न श्रमिकहरूको हक–हित सुनिश्चित गर्न र युवालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न मेरो जोड रहनेछ।

म पूर्ण विश्वासका साथ आग्रह गर्न चाहन्छु—मेरो उम्मेदवारीलाई यहाँहरूले स्वागत गर्नुहुनेछ, र हामी सबै मिलेर सङ्घलाई अझ सक्षम, उत्तरदायी र भविष्यमुखी बनाउने दिशामा अघि बढ्नेछौँ।
सुझाव, सद्भाव र सहयोगप्रति सधैं आभारी छु।
आउनुहोस्, हामी सबै मिलेर हाम्रो साझा संस्थालाई नयाँ उचाइमा पुऱ्याऔँ ।
सधैं तपाईंहरूको साथमा,
विमल नहर्की
व्यवस्थापन निर्देशक
– इको ट्रेक नेपाल प्रा.लि.
– टेम्पल ट्री रिसोर्ट एन्ड स्पा, पोखरा
– होटल पोखरा बाटिका, पोखरा
– होटल हिमालयन हेरीटेज एन्ड स्पा
– श्री बन नेचर क्याम्प, नलगं, धादिङ






















