प्रहार समाचार । काठमाडौं, १२ साउन २०८२ सोमवार । प्रवासी श्रमिक महिलामाथिको हिंसा र बेवास्ताको सन्दर्भमा एक सकारात्मक उदाहरण प्रस्तुत गर्दै तनहुँकी संगीता थापा कुवेतबाट सकुशल स्वदेश फर्किएकी छन्। घरेलु कामदारको रूपमा कार्यरत रहँदा उनी शारीरिक र मानसिक यातनामा परेकी थिइन्। थापाको उद्धार परराष्ट्र मन्त्रालयको पहल र कुवेतस्थित नेपाली राजदूतावासको सक्रिय समन्वयमा सम्भव भएको हो ।

थापाको पीडा सार्वजनिक गराउँदै सामाजिक अभियन्ता दीपक राज जोशीले नेपाल सरकारसमक्ष औपचारिक अपील दर्ता गराएपछि उद्धार प्रक्रिया अगाडि बढेको हो। जोशीको प्रयास र नागरिक दबाबसँगै परराष्ट्र मन्त्रालयले तत्काल कूटनीतिक संयन्त्रमार्फत कारबाही अघि बढाएको थियो।
थापा आज ब काठमाडौं आइपुगेकी हुन्। उनको स्वदेश आगमनसँगै प्रवासी नेपाली महिलाहरूको सुरक्षाका सवालमा राज्यको भूमिकालाई लिएर पुनः बहस सुरु भएको छ।
‘सङ्कटमा परेकालाई उद्धार गर्न राज्य तत्पर हुन सक्छ’ भन्ने सन्देश यो घटनाले दिएको छ,’ सामाजिक अभियन्ता जोशीको भनाइ छ ।
संघीय सरकारको छिटो प्रतिक्रिया, नागरिक समाजको सचेत प्रयास र दूतावासको सहयोगले गम्भीर अवस्थाबाट थापालाई जोगाउन सफल भएको हो।
थापाको यो सफल उद्धारले अन्य मुलुकमा काम गर्दै आएका श्रमिक नेपाली महिलाको सुरक्षा, श्रम अधिकार र कूटनीतिक समन्वयको प्रभावकारिताबारे गहिरो प्रश्न उठाइदिएको छ।






















