प्रहार समाचार । काठमाडौँ, १२ साउन २०८२ सोमवार । देशभर मनसुनी वायुले प्रभाव कायमै रहेका बेला मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले देशभर आंशिकदेखि पूर्ण बदली रही, वर्षाको क्रम जारी रहने महाशाखाको भनाइ छ।
गएराति काठमाडौँ, सिन्धुपाल्चोक, कास्की, लमजुङ, तनहुँ, पर्वत, पाल्पा, मुगु, इलाम, धनकुटा लगायतका जिल्लामा मध्यम वर्षा भएको छ। मधेश प्रदेशको सप्तरीमा पनि हल्का वर्षा मापन भएको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्हरूले जनाएका छन्।
आज दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहितको वर्षाको सम्भावना उच्च छ। त्यस्तै, तराईका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने देखिएको छ। लगातारको वर्षाले पहिरो, बाढी तथा डुबानको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सर्वसाधारणलाई आग्रह गरेका छन्।

























