• विजय अधिकारी (प्रहार संवाददाता ) ११ साउन २०८२ आइतवार । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी आम्दानीलाई सामाजिक सुरक्षासँग जोड्दै पालिकाभित्रका सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको छ।

‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बीमामा लगानी’ नारासहित सञ्चालित कार्यक्रमको सुरुआत वडा नम्बर ४ स्थित नौथर सेरामै गरिएको हो। गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नम्बर १ भारतेका प्रेमबहादुर गुरुङलाई बीमा कार्ड हस्तान्तरण गर्दै औपचारिक शुभारम्भ गरेका हुन्।
गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने चार हजार २ सय २५ घरपरिवारको निःशुल्क बीमा गर्न एक करोड ५० हजार बजेट विनियोजन गरिएको अध्यक्ष अधिकारीले बताए। उनका अनुसार पहिलो चरणमा वडाहरू १ देखि ४ सम्म कार्यक्रम शुरू भइसकेको छ भने बाँकी वडामा क्रमशः विस्तार गरिँदैछ। पालिकाले यस कार्यलाई जनस्वास्थ्यप्रति गम्भीर दृष्टिकोणको रुपमा अघि सारेको हो ।
हाल दोर्दी गाउँपालिकाभित्रबाट पाँच जलविद्युत् आयोजनाबाट कूल १२६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। पिपुल हाइड्रोपावरको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ लगायत अन्य चार आयोजना – दोर्दी खोला, माथिल्लो दोर्दी ‘ए’, दोर्दी १ र छ्याङ्दी खोला जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीलाई स्वास्थ्य बीमामा रूपान्तरण गरेर पालिकाले स्थानीयको जीवनस्तर उकास्न उद्देश्य राखेको छ।

























