प्रहार समाचार । काठमाडौं, ११ साउन २०८२ आइतबार । आज आ दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रहरूमा भारी वर्षाको जोखिम रहेकाले सम्भावित बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

त्यस्तै, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले वर्षाको मात्रा र प्रभाव स्थानअनुसार फरक देखिएको छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा विशेष सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

























