प्रहार समाचार । तनहुँ, ११ साउन २०८२ आइतवार। गर्मीयामसँगै बजारमा पेप्सी, कोक, फेण्टाजस्ता बहुराष्ट्रिय कम्पनीका चिसो पेय पदार्थले बजार ओगटेका छन् । तर, पछिल्लो समय स्वास्थ्यप्रेमी उपभोक्ताहरू रसायनमुक्त अर्गानिक पेय खोज्न थालेका छन् । यही क्रममा तनहुँ दुग्ध उत्पादक सहकारी संस्था कम्पनीले उत्पादन थालेको ‘तनहुँ सहकारी मोही’ ले स्थानीय बजारमा लोभलाग्दो सफलता हात पारेको छ ।

दमौली बजारका विभिन्न बिक्री केन्द्रहरूबाट दैनिक ४ सय लिटर भन्दा धेरै मोही बिक्री हुने गरेको सहकारीका व्यवस्थापक राजु भुजेल बताउँछन् । उनि भन्छन् – ‘जेष्ठमा ५ लाख रुपैयाँ बराबरको मोही बिक्री भएको थियो,’ उनले भने, असामा त्यो बिक्री १५ लाख पुगेको छ । यो साउन महिनामा अझ बढ्ने अनुमान छ ।’

‘सबै उमेर समूहका लागि रुचिकर’ :
संस्थाका सदस्य दुर्गा प्रसाद अधिकारी भन्छन्, “मोही सबै उमेर समूहका मानिसले अत्यन्तै रुचाएका छन् । बच्चादेखि वृद्धसम्मका लागि स्वास्थ्यकर र स्वादिलो पेय भएकोले यसको माग दिनप्रतिदिन बढिरहेको छ ।” उनले मोही उत्पादन अझै बढाउने योजना रहेको जानकारी दिए ।

स्थानीय विकल्पप्रति उपभोक्ताको आकर्षण :
सहकारीका संस्थापक अध्यक्ष तथा राष्ट्रिय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष अमरबहादुर कुँवर का अनुसार बजारमा मोहीको यति धेरै माग छ कि उत्पादन पुगेन भने उपभोक्तालाई खाली हात फर्काउनुपर्ने अवस्था आउँछ । “आफ्नो गाउँठाउँमा किसानले उत्पादन गरेको दूध सदुपयोग भयो,” कुँवर भन्छन्, “साथै स्थानीय स्तरमै रोजगारी सिर्जना भएको छ, जुन सहकारीको उद्देश्यसँग मेल खान्छ ।”

‘अहिले बजारमा कोक, फेण्टाजस्ता पेय पदार्थ छ्यापछ्यापी छन् । यस्तो बेला हामीले एउटा स्वस्थ विकल्प दिन खोजेका हौं,’ व्यवस्थापक भुजेल भन्छन्, ‘हाम्रो मोही शुद्ध र प्राकृतिक छ, कुनै रासायनिक मिश्रण छैन । त्यसैले उपभोक्ताको विश्वास जित्न सफल भएका छौं ।’
स्वास्थ्यका लागि लाभदायी :
व्यास–३ मालपोत लाइनमा रहेको भानु खाजा घरका सञ्चालक रामचन्द्र कुँवर र राधिका कुँवरले अन्य चिसो पेय पदार्थभन्दा मोही बढी माग भएको अनुभव सुनाउँछन् । ‘दिउँसो त ग्राहक नै मोही खोज्दै आउँछन्,’ उनी भन्छन्, ‘स्वादिलो छ, स्वास्थ्यका लागि पनि लाभदायी भएकाले यसको माग बढ्दो छ ।’

ब्रान्डिङसहित आकर्षक बोतल :
सहकारीले एक लिटर र आधा लिटरको आकर्षक बोतलमा मोही उत्पादन र ब्रान्डिङ गर्न थालेको छ । केही सहकारीले तराईमा मोही उत्पादन गरेको देखेपछि बिक्री हुन्छ भन्ने विश्वासका साथ उत्पादन सुरु गरिएको थियो, जुन अहिले सफल देखिएको छ ।
दमौली क्षेत्रमै रहेका बिक्री केन्द्रहरू — व्यास–२ को पुरानो बैंक लाइन, व्यास–३ मालपोत लाइन, व्यास–११ रानीचोक लगायतबाट अत्यधिक बिक्री भइरहेको सहकारीले जनाएको छ ।
स्थानीय उत्पादन र बजार सञ्जाल :
संस्थाले हाल दैनिक ७,५०० लिटर दूध संकलन गर्दै आएको छ भने यसमध्ये ३,५०० लिटर दूध स्थानीय बजारमै मोही, दही, पनिर, आइसक्रिम आदि उत्पादन गरेर बिक्री बितरण गर्दै आएको छ । बाँकी दूध सुजल डेरी, पोखरामा पठाइने गरिएको छ । तर, सुजल डेरीबाट समयमा भुक्तानी नहुँदा किसानलाई मर्का परेको व्यवस्थापक भुजेल बताउँछन् ।
संस्थासँग हाल १४ वटा दुग्ध उत्पादक सहकारी संस्था आबद्ध छन् । स्थानीय किसानको दूध अब खेर जाँदैन, बरु अझै उत्पादन बढाई आम्दानी र रोजगार सिर्जना दुबै गर्न सकिने अध्यक्ष कुँवर बताउँछन् ।


























