प्रहार समाचार । चितवन , ९ साउन २०८२ शुक्रवार । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–३ स्थित शान्तिचोकमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–२ निवासी ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्। कँडेल सवार मोटरसाइकललाई गए राति साढे १२ बजे बोलेरोले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
प्रहरीका अनुसार खैरहनीबाट टाँडी जाँदै गरेको प्रदेश २–०२–००१ च०५१० नम्बरको सागसब्जी बोकेको बोलेरोले जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ख ३३६५ नम्बरको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बा.प्र. ०६–००१प ३५०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो।
अनियन्त्रित गतिमा रहेको बोलेरोले नियमविपरीत ओभरटेक गर्दा ज्यान जाने दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनापछि चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। राजमार्गमा रातको समयमा लापरवाहीपूर्वक सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम अझ बढिरहेको स्थानीयको भनाइ छ।

























