तनहुँ, ५ साउन २०८२ सोमवार । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बुद्धिराम बस्नेतले संहालेका छन्। आज बस्नेतलाई पालिकाले स्वागत,अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिका सभा हलमा आयोजि कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडा अध्यक्षहरू, अन्य जनप्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शुक्र चुमानले नयाँ अधिकृतको आगमनसँगै पालिकाको प्रशासनिक पक्ष थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले पूर्व प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले सेवा अवधिका क्रममा देखाएको निष्ठा र योगदानको पनि प्रशंसा गरे।

उपाध्यक्ष दुर्गा अर्यालले पालिकाको समग्र विकासमा जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य अझ सशक्त बनाइने बताइन्। उनले नयाँ अधिकृतसँग राम्रो टिम वर्कको अपेक्षा गरिएको धारणा राखिन्।

प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले आफूले प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाउँदै विकास, सेवा प्रवाह र संस्थागत सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका थिए।

यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत विष्णु प्रसाद शर्माले उमेरहदका कारण केही समयअघि अवकाश लिएका थिए।



























