प्रहार समाचार । तनहुँ, ४ साउन २०८२ आइतवार । तनहुँको व्यास नगरपालिका–१०, दुम्सीस्थित गौ संरक्षण केन्द्रमा सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत आज विविध प्रजातिका बिरुवा रोपेर धार्मिकस्थललाई हरियालीकरणतर्फ उन्मुख गराइएको छ। गौसंरक्षण जस्तो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई वातावरणीय संरक्षणसँग जोड्दै अभियान अगाडि बढाइएको हो ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार राइखनियो, कोइरालो, टाँकी र निमारो जातका करिब ४ सय बिरुवा केन्द्र परिसरमा रोपिएको छ। यसअघि मादी नदी किनारमा एक सय बाँस र तीन हजार अम्रिसोका बिरुवाहरू रोपिएका थिए। रोपिएको बिरुवाले जैविक विविधता बढाउने र धार्मिकस्थलको वातावरणीय मूल्य थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।

बिरुवा रोपण कार्यक्रममा व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, डिभिजन वन अधिकृत शरद अधिकारीलगायतको सहभागिता थियो। गौ संरक्षण केन्द्र संरक्षण समितिका अध्यक्ष तुलसीराम सापकोटाले धार्मिकस्थलमा हरियाली बढाउनु सकारात्मक पहल भएको भन्दै रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा स्थानीयले सक्रिय भूमिका खेल्ने बताए।

क

























